सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेकटहरेस्थित तोरीबारीका दुर्गामणि पौडेलले निजी लगानीमा वाइन उद्योग खोलेका छन् । स्थानीयलाई रोजगारी दिने उद्देश्यसहित करिब १० करोड लागतमा पौडेलले वाइन उद्योग खोलेका हुन् ।

बसन्तपुर तीनजुरे बेभरेज प्रालिले सञ्चालनमा ल्याएको तीनजुरे किबी उद्योगबाट ‘तीनजुरे बगान वाइन’ उत्पादन सुरु भएको छ । उद्योगमा स्थानीय कृषकले उत्पादन गरेको किवी खपत हुँदै आएको छ भने स्थानीयले रोजगारी पनि पाएका छन् ।

Advertisement

२०५४ सालमा बसाइ सरेर अन्यत्र गएका पौडेल २०७४ सालमा गाउँमै केही गर्नुपर्छ सोचेर फर्किएका थिए । त्यसपछि उनले बसन्तपुर तीनजुरे बेभरेज प्रालि सञ्चालनमा ल्याए । प्रालिले अहिले आफ्नै जग्गामा करिब एक यस रोपनी क्षेत्रफल किवी खेती गरेको छ ।

आफ्नै उत्पादन तथा आसपासका किसानले करिब ५ सय रोपनी क्षेत्रफलमा लाइएको किवी उद्योगमा खपत हुँदै आएको छ । यस्तै आवश्यक परेको अवस्थामा छिमेकी जिल्लाबाट समेत उद्योगले किवी खरिद गर्ने गरेको छ ।

उद्योगबाट वार्षिक ३ लाख लिटर वाइन उत्पादन गर्न सकिन्छ । उक्त उत्पादनबाट वार्षिक करिब ३० करोड आम्दानी हुनेगरेको उद्योग सञ्चालक पौडेलले बताए । उनले आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेको सुनाए ।

‘ल्याव टेष्ट गरेर अर्गानिक किवी खरिद गरेर अर्गानिक वाइन उत्पादन सुरु गरेका छौँ’, उनले भने, ‘क्षमता अनुसार उद्योग सञ्चालनमा आउन वार्षिक पाँच सय टन किवी आवश्यक पर्छ । अहिले कम मात्रामा उत्पादन भइरहेको छ ।’

तर केही वर्षमै उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ । उद्योग र किवी बगानमा नियमित ५ जनाभन्दा बढीले रोजगारी पाएका छन् । उनका अनुसार सिजनमा १५ देखि २० जनाले रोजगारी पाउने गरेका छन् ।

केहीबर्ष अगाडिसम्म स्थानीय कृषकले उत्पादन गरेको किवीले बजार नपाउँदा समस्या भोग्दै आएका थिए । तर किवी उद्योग संचालनमा आएसँगै स्थानीय कृषकलाई फाइदा भएको छ । उद्योगले गतवर्ष ग्रेट छुट्याएर किसानबाट प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गरेको थियो ।

जसले किवी खेती गर्दै आएका किसानलाई बजारको समस्या हटेको स्थानीय कृषक तिलबहादुर पौडेलले बताए । ‘गतवर्ष किवी बिक्री नहुँदा किसान मारमा परेका थियौं’, उनले भने, ‘उत्पादित किवी बजारमा लगेर बेच्दा खर्च समेत उठ्दैन थियो । अहिले हामीलाई राहत पुगेको छ ।’

उद्योग सञ्चालनका लागि कृषि मन्त्रालयले २५ लाख र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयले ७० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । उद्योगले किसानलाई सहज बनाएकोले महालक्ष्मी नगरपालिकाले योजना बनाएर सहयोग गर्ने वडा नम्बर २ का वडाअध्यक्ष पदम रखाल मगरले बताए ।

उद्योगले अन्तशुल्क वापत ३८० रुपैयाँ प्रति लिटर राजस्व तिर्दै आएको छ । कृषकको उत्पादनसँग जोडिएको उद्योग भएकाले कर छुट हुनुपर्ने उद्योगीको माग छ । उद्योगले केही वर्षमा खाडी मुलुकसम्म वाइन बिक्री गर्ने योजना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!