
विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले मेडिकल क्षेत्रले छलाङ मारेको बताएका छन् । नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता शर्माले नेपालमा अरू क्षेत्रले पनि मेडिकल जस्तै फड्को मारेको भए मुलुक दुबई, सिंगापुर बनिसकेको हुने बताए । शर्माका अनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको छ । अब अरू क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उनको भनाइ छ ।
‘अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरूको जमाना छ’, शर्माले भने, ‘म आश गर्छु अर्को २० वर्ष पछाडि म बूढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ । यो भन्दा अझ २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’
काठमाडौँ विश्वविद्यालयको उपकुलपति प्रा.डा अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए । अहिले एआई र रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उनले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरूको समेत परिपालना गरिरहेको बताइन् । उनका अनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ ।

संगालोखबर 













