
धनकुटा । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले १२ हजार बढी अन्तर व्यक्तिगत विवाद समाधान गरेको छ । केन्द्रले धनकुटामा आयोजना गरेको आठौँ चरणको समृद्धिका लागि शान्ति कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
केन्द्रका अनुसार यससम्बन्धी कोशी प्रदेशमा ५ र मधेश प्रदेशमा २ वटा कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट १२ हजार सात सय ५६ वटा अन्तर व्यक्तिगत विवाद समाधान भएको केन्द्रले जनाएको छ ।
विभिन्न प्राकृतिक श्रोत, जल, वनजङ्गलसम्बन्धी समाजमा भएका द्वन्द्वहरूलाई छलफलका माध्यमबाट विवाद समाधान गरेर सम्बन्ध सुधारमा टेवा पुर्याउने काम गर्दै आएको केन्द्रका क्षेत्रीय संयोजक राजन राईले बताए ।
गाउँघरमा हुने जस्तोसुकै द्वन्द्वलाई पनि छलफलका माध्यमबाट समाधान गर्दै समाजलाई समृद्ध बनाउन केन्द्रले काम गर्दै आएको उनको भनाइ थियो । तर यस्ता कार्यको लागि स्थानीय तहले बजेट विनियोजन नगर्दा समस्या हुनेगरेको उनको भनाइ छ ।
यस्तै कतिपय घटनाहरूमा राजनीति जोडिने हुँदा विवाद मिलाउन समस्या हुने गरेको संयोजक राईले बताए । केन्द्रले न्यायमा पहुँच, सामुदायिक विकास तथा प्राकृतिक स्रोत साधनको संरक्षण समेत गर्दै आएको छ ।
केन्द्रले १० हजार एक सय ७७ जना मेलमिलापकर्तालाई क्षमता विकास तालिम दिएको जनाएको छ । त्यस्तै स्थानीय सरोकारवालासँगको समन्वयमा पाँच सय ४१ मेलमिलाप केन्द्र स्थापन समेत गरको छ । जसले समाजमा हुने र भएका द्वन्द्वलाई छलफलको माध्यमाबाट समाधान निकाल्न सहज हुने राष्ट्रिय स्रोत व्यक्ति बालकृष्ण सुवेदीले बताए ।
कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले प्रशासनले मिलाउने विवादमा केन्द्रले मुख्य भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले विवादका घटना पहाडी जिल्लामा भन्दा बढी तराईका जिल्लामा हुने उल्लेख गरे ।

सन्तोष सुवेदी/संगालोखबर 













