
बारा । बाराको सिमरामा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता बारा आउन लागेका भन्दै जेनजी युवाहरूले सिमरा एयरपोर्ट नजिक विरोध गरेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरूले विरोध गरेपछि झडप भएको हो ।
झडप भड्किन नदिन स्थानीय प्रशासनले कफ्र्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका नेतालाई जेनजी युवाहरू रोक्न लागेका थिए । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ ।


संगालोखबर 













