
विराटनगर । विराटनगर महानगरपालिकामा सरसफाइ सचेतना सम्बन्धि अभियान बढेपनि जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिको अन्त्य भएको छैन । महानगरपालिका तथा अभियन्ताहरू सहरलाई सफा बनाउन अग्रसर भएपनि नागरिक सचेत नहुँदा समस्या देखिएको हो ।
महानगरपालिकाले तीन वटा निजी कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । ती कम्पनीले सरसफाइ सदस्यता लिएका घरहरूको फोहोर संकलन गर्छन । तर सार्वजनिक स्थलको फोहोर संकलनमा समस्या देखिएको छ ।
विराटनगरकी स्थानीय आरती गेलालका अनुसार फोहोर संकलनको जिम्मा पाएका निजी कम्पनीहरूले सार्वजनिक स्थलको फोहोर संकलनमा खासै चासो देखाएका छैनन् । सार्वजनिक स्थलको फोहोर संकलन प्रभावकारी नहुँदा वरिपरिको वातावरण नै दुर्गन्धित हुनेगरेको उनले बताइन् ।
विराटनगरका सामाजिक अभियन्ता उद्धव केसीले नागरिकमा शुल्क बुझाउने संस्कार अझै नबढेकाले फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताए । केसी सहरलाई सफा बनाउनुपर्छ भनेर विराटनगरवासीलाई सचेत गराउँदै हिँड्छन् । उनले सबै नागरिक सचेत र जिम्मेवार भएको खण्डमा विराटनगर सफा सहर बन्ने बताउँछन् । उनले महानगरले प्रयास गरेपनि नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
अर्का अभियन्ता देवचन्द्र घिमिरेले पहिलाको तुलनामा महानगर सफा हुन थालेको बताए । महानगरवासीलाई सचेत गराइरहेको उल्लेख गर्दै उनले सबैलाई अनिवार्य सरसफाइ सदस्यता लिन अनुरोध गर्ने गरिएको जानकारी दिए ।

महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्र विभाजन गरेको छ । ती क्षेत्रबाट क्रमशः ९ हजार ६ सय ५७, ७ हजार ३ सय ८३ र ४ हजार ३ सय २२ घरधुरीले मात्रै सरसफाइ सदस्यता लिएका छन् । महानगरपालिकाका अनुसार ६० हजार घरधुरीमध्ये करिब २२ हजारले मात्रै सरसफाइ सदस्यता लिएका छन् ।
महानगरले घरदैलो अभियानसँगै सार्वजनिक स्थलमा फोहोर फ्याँक्ने व्यक्तिको फोटो र भिडियो प्रमाण संकलन गर्दै कारबाही गर्न थालेको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले बताए । नागरिकमा सरसफाइ सदस्यता लिनुपर्छ र गाडीमै फोहोर पठाउनुपर्छ भन्ने चेतना विकास हुन जरुरी रहेको उनको भनाइ छ ।
महानगरको उत्तरी क्षेत्र (१, २, ३, ४, ५ र १९ नम्बर वडा) बाट नेपाल फूलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रालि, मध्य क्षेत्र (६, ७, ८, ९, १० र ११ नम्बर वडा) बाट स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र दक्षिणी क्षेत्र (१२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा) बाट आरएसडी सप्लायर्स सर्भिसेज प्रालिले फोहोर संकलन गर्दै आएको छ ।

इन्दु साह/संगालोखबर 













