
विराटनगर । झापाबाट मोरङ प्रवेश गरेको जंगली हात्तीको बथान पुनः झापा नै फर्किएको छ । केहिदिन अघि मोरङबाट झापा प्रवेश गरेको करिब ३० वटा हात्तीको बथान झापा र मोरङको सिमानामा ओहोर-दोहोर गरिरहेको छ ।
डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले हात्तीको बथान मोरङ र झापाको सिमानामा वारपार-वारपार भइरहेको बताए ।
‘हिजो बिहानसम्म मोरङ फर्किएको हात्ती गएराति झापा फर्किएको छ’, श्रेष्ठले संगालोखबरसँग भने, ‘मोरङको मधुमल्ला, पथरी शनिश्चरे र झापाको दमक र शिवसताक्षीमा हात्तीको बथान आउजाउ भइरहेको छ ।’
उनका अनुसार जंगली हात्तीको बथान करिब एक वर्षअघि नै भारतबाट नेपाल प्रवेश गरेको थियो । हात्तीको बथान यताउता गरेको करिब हप्तादिन भएको उनले बताए । ‘यो बथान बिगत एक वर्षदेखि सुनसरी, मोरङ तिरै थियो’, उनले भने, ‘पाँच/सात दिन भएको थियो झापा तिर सरेको । हाम्रो अनुमान भारततिर फर्किन लागेको भन्ने थियो । तर फर्किएको छैन ।’
हात्तीको बथान प्रवेश गरेसँगै जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको उनले बताए । उनले स्थानीयलाई सचेत गराउँदै माइकिङ समेत गरिरहेको जानकारी दिए । हात्तीको बथान भारत फर्किन्छ या यतै बस्छ अहिले भन्न सक्ने अवस्था नरहेकाले थप सतर्कता अपनाइएको उनको भनाइ छ ।

संगालोखबर 













