
विराटनगर । ६ लेन सडक निर्माण भएपनि विराटनगरको उत्तरी प्रवेशद्वार सडकभन्दा साँघुरो छ । प्रवेशद्वार साँघुरो भएपछि २०७७ सालमै नयाँ डिजाइनमा २५ मिटर सडक क्षेत्रभित्र पर्नेगरी प्रवेशद्वार निमार्णको तयारी थालिएको थियो । जसको डिजाइन समेत तयार भएको थियो ।
तर अहिलेसम्म प्रवेशद्वार निर्माणको थालनी हुन सकेको छैन । जसका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । सडकभन्दा साँघुरो पुरानै प्रवेशद्वारका कारण दोहोरो सवारी आवत-जावत हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय कुमार चौलागाइँले बताए ।
‘सडक ठूलो छ । गेट सानो हुँदा दुर्घटनाको जोखिम बढेको छ’, उनले भने, ‘अब यो जीर्ण संरचना हटाएर आधुनिक र आकर्षक ढंगले प्रवेशद्वार बनाउन आवश्यक छ ।’
प्रवेशद्वार निर्माणको हल्ला चलेको लामो समय भएपनि अहिलेसम्म काम अघि नबढेको स्थानीय अभिषेक साहले बताए । ‘मुख्य राजमार्गमै यस्तो पुरानो र साँघुरो संरचना हुनु राम्रो होइन’, उनले भने, ‘नयाँ गेट बनेमा सहरको सौन्दर्य पनि बढ्छ र सवारी आवागमन पनि बढ्छ ।’
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले तत्काल नयाँ प्रवेशद्वार निर्माणको योजना नभएको बताए । ‘भविष्यमा बजेट व्यवस्थापन र आवश्यक अध्ययनपछि नयाँ प्रवेशद्वार निर्माणको सम्भावना छ’, कोइरालाले भने ।

इन्दु साह/संगालोखबर 













