
विराटनगर । नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।
सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछी बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।
यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । आकस्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै आर्थिक भारसमेत कम भएको छ ।
निगमले काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप गरेको निगमले जनाएको छ । कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।
प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ ।

संगालोखबर 













