
विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी मात्र नभएर प्रदेशकै एक मात्र महानगरपालिका हो । जसका कारण लाग्न सक्छ, विराटनगर सम्पूर्ण पक्षमा पूर्ण छ । तर, सोचेभन्दा धेरै फरक छ ।
विराटनगरमा घुमफिरका लागि उपयुक्त स्थान छैनन् । फुर्सदको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने योजना बनाउँदा पनि विराटनगरमा ठाउँ नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ ।
विराटनगरमा उपयुक्त घुमफिर गर्ने स्थान नहुँदा अन्यत्रै जानुपर्ने बाध्यता रहेको स्थानीय अंकित लकोटियाले बताए । भएका घुमफिर गर्ने पार्क र मनोरञ्जन स्थलहरू पनि संरक्षणको अभावमा जीर्ण भएका उनको भनाइ छ ।
विराटनगर-७ स्थित ग्रीन पार्क अलपत्र अवस्थामा छ । त्यहाँ रहेका संरचना जीर्ण बन्दै गएका छन् भने पार्क झाडीमा परिणत भएको छ । वीरेन्द्र सभागृह नजिकै रहेको इको पार्कलाई पार्किङ स्थल बनाउने तयारी गरिएको छ । निर्माण गरिएका संरचना संरक्षण नहुनु महानगरपालिकाको कमजोरी भएको स्थानीय सुनिल यादवले बताए ।
महानगरपालिकाले भएका संरचना संरक्षण गरेको खण्डमा समय व्यतीत गर्ने धेरै ठाउँहरू छन् । विराटनगरमा रानी मण्ठा पोखरी, विराट राजाको दरबार लगायतका ऐतिहासिक स्थानहरू छन् । तर यी स्थानहरूको पनि संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको उनले बताए ।
घुम्ने ठाउँ पर्याप्त भएपनि नागरिकले नदेखेको हुनसक्ने महानगरका मेयर नागेश कोइरालाले प्रतिक्रिया दिए । उनले घुमफिर गर्ने र समय व्यतीत गर्ने स्थलहरूको निर्माण भइरहेको बताए ।

इन्दु साह/संगालोखबर 













