
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा एक अर्ब बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार दुई ३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा भएको क्षति हो ।
त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार चार सय ८५ रुपैयाँ क्षति भएको छ ।
भौतिक संरचना र जिन्सीसहित जम्मा ९८ करोड ६३ लाख २१ हजार सात सय १९ रुपैयाँ क्षति भएको महानगरले तथ्याङ्क निकालेको छ । भौतिक क्षति बाहेक जनताका कामसँग सम्बन्धित महत्वपूर्ण कागजात नष्ट भएका छन् ।
मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने भएपनि सेवा प्रवाहमा कुनै कमी हुन नदिएको बताए । आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए ।
प्रशासनिक भवन र वडा कार्यालयहरूमा क्षति पुग्दा टेन्टमार्फत सेवा प्रवाह भइरहेको छ । बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्छ । प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत र नेट जडान भइरहेको छ ।

संगालोखबर 













