
विराटनगर । नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक समितिले करिब तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । विराटनगर फुटबल ट्रस्टले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्दै टिकट बिक्री कमजोर भएको जनाएको हो ।
गत फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा भएको गोल्डकपमा करिब पाँच हजार रुपैयाँ बराबरको मात्र टिकट बिक्री भएको र ठूलो मात्रामा पास वितरण गर्नुपरेको गोल्डकपका संयोजक नवीन रिजालले जानकारी दिए । उनका अनुसार दर्शकहरूले टिकट खरिद नगरी पास माग्ने प्रवृत्तिले प्रतियोगिता घाटातर्फ धकेलिने गरेको छ ।
रिजालले खेलकुदको विकासका लागि दर्शक र विराटनगरवासीको सक्रिय सहयोग आवश्यक रहेको बताए । उनका अनुसार प्रतियोगितामा १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी र १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।
विराट गोल्डकप आयोजनामा राजनीतिक प्रभाव बढि हुने भएकाले आगामी दिनमा सङ्कटमा पर्नसक्ने रिजालले बताए । विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले दशौं संस्करणको गोल्डकप फागुनमा हुने निर्वाचनलाई मध्यनजर गरी माघ महिनामा गर्ने योजना रहेको बताए ।

इन्दु साह/संगालोखबर 













