संगालोखबर

विराटनगर । कोशी प्रदेशलाई खोरेतमुक्त बनाउने लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाबाट निःशुल्क खोप अभियान सुरु गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा खोप अभियान सुरु गरिएको हो ।

Advertisement

विराटनगर-१२ स्थित बञ्जारा एग्रो फार्मबाट खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाईभैंसी रहेको तथ्यांक भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले प्रस्तुत गरे ।

उनका अनुसार पहिलो चरणमा १६ हजार ६ सय गाईभैँसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ । खोप कार्य भ्याक्सिनेटरमार्फत गराइने र तथ्यांक डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

मोरङ जिल्लामै ३ लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ । त्यस्तै बंगुरका लागि ५६ हजार डोज खोप लगाइने डा. साहले बताए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १ सय ३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी र अभियान अघि बढाइएको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । उनले स्थानीय कृषकलाई सक्रियरूपमा सहभागी हुन आग्रह गर्दै खोप अभियान पशु स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!