सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सञ्चालित जुत्ता-चप्पल बनाउने घरेलु उद्योग सङ्कटमा परेका छन् । रेडिमेट जुत्ता-चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघिदेखि जुत्ता-चप्पल बनाउँदै आएका घरेलु उद्योग सङ्कटमा परेका हुन् ।

Advertisement

धनकुटा नगरपालिका-७ संगम टोलमा सञ्चालित अधिकांश जुत्ता-चप्पल बनाउने उद्योग बन्द भइसकेका छन् । भएका पनि सङ्कटमा परिसकेका छन् । कुनै बेला ती उद्योगमा जुत्ता-चप्पल किन्नेको भीड लाग्थ्यो । तर अहिले ती उद्योगहरू सुनसान अवस्थामा छन् ।

बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा पुर्ख्यौली पेशा सङ्कटमा परेको विजय सु सेन्टरका सञ्चालक अजयकुमार बोगटीले बताए ।

कुनै बेला परम्परागत घरेलु प्रविधिबाट बनाइने छालाको जुत्ता-चप्पल धनकुटामा मात्र नभई देशका अन्य शहरमा पनि परिचित थियो । गुणस्तर र टिकाउको हिसाबले यहाँ उत्पादन हुने छालाको जुत्ताचप्पल निकै लोकप्रिय थियो ।

छालाको जुत्ता बनाउने एक उद्यमीले राष्ट्रिय पुरस्कार समेत पाएका थिए । घरेलु उद्योगबाट उत्पादन हुने जुत्ताको मूल्य न्यूनतम १२ सय देखि ३ हजार रुपैयासम्म पर्ने गरेको छ ।

छालाको जुत्ता अन्यको तुलनामा टिकाउ र गुणस्तरीय हुने गरेको मोहन सु सेन्टरका सञ्चालक कुमार बोगटीले बताए । घरेलु उद्योगले थोरै पुँजीमा थोरै संख्यामा जुत्ता उत्पादन गर्छ । लागत खर्च नै धेरै पुग्ने भएकाले अरुको तुलनामा केही महंगो हुने उनको भनाइ छ ।

पहिलाको तुलनामा व्यापार धाराशयी बन्दै गएको बोगटीले बताए । कतिपयले जेनतेन पुर्ख्यौली पेशा धानेर बसेका छन् । युवापुस्ताले भने यसलाई निरन्तरता दिन सकेका छैनन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १० ओटा जुत्ता-चप्पल बनाउने घरेलु उद्योग दर्ता छन् । नयाँ उद्योग सञ्चालन गर्नेलाई तालिम दिनुका साथै प्रविधि हस्तान्तरण कार्यक्रम पनि सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!