
विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो ।
०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हतियार गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













