
इलाम । गत असोज १८ र १९ मा आएको भारी वर्षापछिको बाढीपहिरोले इलाममा करिब १२ अर्बको क्षति भएको छ । विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति भएको हो ।
जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो ।
बाढीपहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाखको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा ८५ करोड र ६ वटा भवनमा चार करोडबराबरको क्षति भएको छ ।
जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत प्राधिकरणअन्तर्गत पाँचवटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ ।
त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको १३ करोड ४६ लाख ६९ हजार, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजारबराबरको क्षति भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत दुई हजार ५२० वटा पशुपन्छीमा दुई करोड ३५ लाख ७६ हजार र दुई सय ४४ वटा गोठ र पोखरीमा एक करोड ९७ लाख ५४ हजारबराबरको क्षति भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापा अन्तर्गत २ सय २३ आयोजनामा २८ करोड १ लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कषि ज्ञान केन्द्रअन्तर्गत तीन हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा चार करोड ७५ लाख ५० हजारबराबरको क्षति भएको छ ।
नेपाल टेलिकम अन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा पाँच लाख आठ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापा अन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट ३२ करोड ९० लाख १६ हजारबराबरको क्षति भएको छ ।
बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट जिल्लामा सात सय ११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये सात सय परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संगालोखबर 













