सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा दुई जनप्रतिनिधिले सफल कृषकको पहिचान बनाएका छन् । लगानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै उनीहरूले कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका हुन् ।

धनकुटा नगरपालिका-२ स्थित भिरगाउँका चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका-१ घुमाउनेका टेक बहादुर गुरुङ वडाध्यक्ष हुन् । उनीहरूले दोस्रो कार्यकाल पनि वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

Advertisement

जनताको कामसँगै उनीहरू लामो समयदेखि कृषि कर्ममा पनि रमाइरहेका छन् । जनताको दैनिक काम र गुनासा सम्बोधनसँगै उनीहरूले बाँकी समय तरकारी खेती र पशुपालनमा लगाइरहेका छन् । जसबाट युवाहरूलाई प्रेरणा समेत मिलेको छ ।

वडाध्यक्ष तामाङ बिहान उठेर गोठको कामबाट दिनको सुरुवात गर्छन । उनको गाई फार्म छ । उनको फार्मबाट दैनिक १ यस ८० लिटर दूध उत्पादन हुन्छ । गाउँमै केही गरेर देखाउने सोचका साथ कृषि कर्ममा लागेर मेहनत गर्न सक्ने हो भने राम्रो आम्दानी हुने वडाध्यक्ष तामाङले बताए ।

‘युवाहरूले विदेशको सपना होइन, देशमै केही गर्ने सपना देख्नु पर्छ’, उनले भने । पशुपालनसँगै उनले तरकारी खेतीबाट पनि आम्दानी गरिरहेका छन् । उनले आफ्नो कर्मबाट आत्मसम्मान पनि कमाइरहेको बताए ।

वडाध्यक्ष चन्द्रलाल तामाङ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

तामाङ २०७२ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । उनी २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएका थिए । बिहान ५ बजे उठ्ने उनी वडाको जिम्मेवार थपिएसँगै बिहान ३ बजे उठ्ने गरेको बताउँछन् ।

यस्तै महालक्ष्मी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर गुरुङको दैनिकी पनि उस्तै छ । २०७४ सालको निर्वाचनमा वडाध्यक्ष बनेका गुरुङले पनि नागरिकको सेवासँगै कृषि कर्मलाई निरन्तरता दिइरहेका छन् ।

गुरुङले लामो समयदेखि तरकारी खेतीसँगै गाई पालन गर्दै आएका छन् । वार्षिक ५० देखि ६० लाख आम्दानी गर्ने लक्ष्यका साथ कृषिकर्म गरिरहेको वडाध्यक्ष गुरुङले बताए । कुनै सिजनमा भने तरकारीले उचित मूल्य नपाउँदा समस्या हुने गरेको उनको अनुभव छ ।

‘कुनै समय लक्ष्यभन्दा बढीको तरकारी बिक्री हुन्छ’, वडाध्यक्ष गुरुङले भने, ‘कुनै समय लगानी उठाउन पनि मुस्किल पर्छ । तर जनताको सेवासँगै कृषिकर्म निरन्तर चलिरहेको छ ।’

वडाध्यक्ष टेकबहादुर गुरुङ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

वार्षिक सरदर करिब ३० लाखसम्मको हरियो सागपात तथा तरकारी बिक्री गर्दै आएको बताउँदै उनले दैनिक ४५ लिटर दुध उत्पादन गर्ने गरेको सुनाए । उनले बिचौलियाको नियन्त्रण गर्न सकेमा कृषकले मेहनत अनुसारको मूल्य पाउने उल्लेख गरे ।

वडाध्यक्षमा निर्वाचित भएपछि वडामा गोठ सुधार कार्यक्रम, अनुदानमा घाँस काट्ने मेसिन वितरण सहित वडामा रहेका ८ वटा टोलमा ५/५ वटा उन्नत जातको गाई वितरण गरेको उनले बताए ।

यस्तै वडाका हरेक घरमा ४ सय लिटरको पानी तताउने मेसिन वितरण गर्ने र गाई दुहुने मेसिन वितरणको तयारी रहेको गुरुङ बताउँछन् । महालक्ष्मी नगरपालिका-१ मा ८० प्रतिशत परिवार व्यावसायिक कृषिकर्ममा रहेको उनले बताए । वडाबाट दैनिक ६ लाख रुपैयाँ बराबरको दूध उत्पादन हुने गरेको गुरुङको भनाइ छ ।

२०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएका तामाङ र गुरुङ २०७९ सालको निर्वाचनमा पनि दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!