संगालोखबर


विराटनगर । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर गरेको छ ।

Advertisement

आयोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो ।

अनुसन्धानका क्रममा श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको आय र व्ययको विश्लेषण गरिएको थियो । सो अवधिमा श्रेष्ठ र उनको परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको छ ।

तर सोही अवधिमा उनको खर्च तथा लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ देखिएको आयोगले जनाएको छ । आयोगका अनुसार श्रेष्ठको कुल आयभन्दा कुल व्यय १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँले बढी देखिएको छ ।

सो रकमको स्रोत पुष्टि हुन नसकेकोले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर अख्तियारले गरेको हो । आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूरमा बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ। गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!