
धनकुटा । अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित भएका छन् । व्यवसायिक खोर्सानी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन् ।
गतवर्ष अकबरे खोर्सानी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । तर यसवर्ष प्रतिकिलो १ देखी १ सय ८० रुपैयाँसम्ममा मात्रै बिक्री भइरहेको कृषक प्रदिप ओझाले बताए । उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएका छन् । खोर्सानी उत्पादन बढ्दा मूल्य घटेको हुनसक्ने उनको अनुमान छ ।
‘पहिले अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे’, ओझाले भने, ‘अहिले उत्पादन बढे पनि मूल्य नपाउँदा समस्या भएको छ । लगानी उठाउन पनि धौ-धौ हुने अवस्था छ ।’
स्थानीय सरकारले पनि यसको बजारीकरणमा सहयोग नगर्दा थप समस्या थपिएको कृषकहरूको गुनासो छ । जेठबाट अकबरे खोर्सानीको बिक्री सुरु हुने भएपनि उचित मूल्य नपाउँदा मारमा परिएको पाख्रीबास नगरपालिका-७ का कृषक भूपाल थापाले बताए ।
करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लगाएका उनले प्रतिकिलो १ यस ५० रुपैयाँले बिक्री गरिरहेको सुनाए । उनले नोक्सानी व्यहोर्नु पर्दा खोर्सानी खेतीतर्फ कृषकको आकर्षण घट्नसक्ने बताए । उनले वर्षेनी अकबरेको मूल्यमा गिरावट आइरहेको सुनाए ।
‘अकबरे रोपेको पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ’, उनले भने, ‘अन्य बाली मासेर खोर्सानी खेती गरियो । मूल्य नपाउँदा समस्या भएको छ ।’
जिल्लाका धेरै कृषकहरूले अन्य खेती मासेर व्यवसायिक अकबरे खोर्सानी खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब ८० हेक्टर क्षेत्रफलमा व्यवसायिक अकबरे खोर्सानी खेती भइरहेको छ ।
ज्ञान केन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९ सय ७३ दशमलब १५ मेक्ट्रिक टन खोर्सानी उत्पादन भएकोमा गत आर्थिक वर्षमा ८ सय मेट्रिक टन खोर्सानी उत्पादन भएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













