
संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको दुई महिनापछि खुलेको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदौ १५ देखि सडक अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको हो ।
लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि सडक पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र योजनाको संयुक्त प्रयासमा सडक सुचारु भएको हो ।
भोटखोला क्षेत्रको कठिन भूभाग र लगातारको वर्षाका कारण सडक मर्मतको काम ढिलाइ भएको थियो । अहिले एकतर्फी यातायात सञ्चालन सुरु भएको आयोजनाको भनाइ छ ।
सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलबाट सवारिसाधन सञ्चालन भएको छ । लामो समयदेखि सडक बन्द हुँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति र आवागमनमा ठुलो कठिनाइ भएको थियो ।
दैनिक उपभोगका वस्तु, औषधि र निर्माण सामग्रीको आपूर्ति ठप्प भएको थियो । दुर्गम बस्तीका स्थानीयले पैदल यात्रामा निर्भर रहँदै स्वास्थ्य उपचार, शिक्षा र प्रशासनिक सेवामा समेत पहुँच गुमाएका थिए ।

संगालोखबर 













