
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-७ स्थित नाम्जाङ माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकामाथि जातीय विभेद भएको भन्दै सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल र सङ्घीय दलित मुक्ति मञ्चले तीव्र विरोध जनाएका छन् ।
उक्त घटनाको विरोधस्वरूप मञ्चले बिहीबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
२०८२ भाद्र ११ गते विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाले शिक्षिका एलिसा विश्वकर्मालाई ‘आज विद्यालयमा खानपान छ, तपाईँ भान्छा छेउछाउ नआउनु’ भनेपछि विवाद भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रधानाध्यापकले यसअघि पनि पटक-पटक जातीय रूपमा विभेद गरेको प्रमाणित भएको मञ्चको दाबी छ । पीडित शिक्षिका विश्वकर्माले सो घटनापछि तेह्रथुम जिल्ला अदालतमा जातीय छुवाछुत तथा विभेदसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।
अदालतले प्रधानाध्यापक खतिवडालाई पुर्पक्षका लागि धरौटीमा रिहा गरेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले पुनः प्रधानाध्यापकको हैसियतमा विद्यालयमा हाजिर गराएको भन्दै मञ्चले त्यसको विरोध गरेको छ ।
मञ्चले अदालतको अन्तिम फैसला नआउँदासम्म प्रधानाध्यापकलाई विद्यालयमा हाजिर गर्न रोक लगाउनुपर्ने माग अघि सारेको छ ।

संगालोखबर 













