
विराटनगर । विराटनगरको वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन गर्ने निर्णय भएको छ । कोशी प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभा ध्वस्त भएपछि अस्थायी भवनका रूपमा वीरेन्द्र सभागृह छानिएको हो ।
प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार सोमबार बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले सभागृह छनोट गरेको हो । यसअघि कटहरीको कृषि बजारलाई पनि विकल्पमा राखिएको थियो ।
वीरेन्द्र सभागृह छनोट भएसँगै समितिले भवन भाडामा लिन आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । यस्तै भवन प्रयोगका लागि विराटनगर महानगरसँग जीटुजी प्रक्रिया अपनाउने तयारी गरिएको जनाइएको छ ।
कोशी प्रदेशसभाको सातौँ अधिवेशन असोज १० गते अन्त्य भएको थियो । आठौँ अधिवेशन वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने गरी तयारी सुरु भएको सचिवालयले जनाएको छ ।

इन्दु साह/संगालोखबर 













