इन्दु साह/संगालोखबर

विराटनगर । केही दिन अघिको अविरल वर्षाका कारण भएको डुबानबाट विराटनगरका करिब एक हजार मानिस प्रभावित भएका छन् । असोज १८ देखि २० गतेसम्म तीन दिनको वर्षाले विराटनगर महानगरको पाँच वटा वडाका २ सय १८ घरमा डुबान हुँदा ९ सय ८१ व्यक्ति प्रभावित भएका हुन् ।

Advertisement

विराटनगर-१६ दरैयाका ७७ घरमा डुबान हुँदा ३८१ जना, १२ नं.को बखरीमा ७५ घर डुबानमा पर्दा ३५० जना र २ नं. का ३५ घरमा डुबान हुँदा १५० जना प्रभावित भए । त्यस्तै, वडा नं.५ का २० घरमा डुबान हुँदा ६० जना र वडा नं.८ सुकुम्बासी बस्तीका ११ घर डुब्दा ४० जना प्रभावित भएका हुन् । डुबानमा परेर विराटनगरमा एक जनाको मृत्यु पनि भएको छ । पानीको भेलले बगाएर खाल्डोमा डुब्दा भारत घर भई बिराटनगर-१६ डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले ‘आरिघोप्टे’ वर्षा हुने पूर्वानुमान गरेपछि सरकारले पनि सतर्कता अपनाउन सूचित गरेको थियो । सोही अनुसार जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई वर्षा सुरु हुनुअघि नै अन्यत्र सर्न आग्रह गरिएको थियो । कतिपय सर्वसाधारणसँगै पशुहरूलाई पनि विद्यालय, मन्दिर र सामुदायिक भवनमा सारिएको थियो ।

सोही कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेल बताउँछन् । उनी भन्छन्, ‘जोखिम क्षेत्रमा रहेका बासिन्दा र पशुहरूलाई पहिले नै सुरक्षित स्थलमा लैजाने व्यवस्था गरिएको थियो, त्यही कारण ठूलो क्षति हुनबाट जोगियो ।’

विपद् अघि नै माइकिङ गरेर सर्वसाधारणहरूलाई सतर्क रहन सूचित गरिदा सहज भएको हो । विपद्को पूर्व सूचनाका कारण आम सर्वसाधारणहरूलाई जोगिन सजिलो भएको विराटनगर १२ का स्थानीय रोशन मण्डल बताउँछन् ।

अविरल वर्षाका कारण डुबान भएका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विराटनगर महानगरपालिकाको संयुक्त टोलीले उद्धारको काम गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!