
विराटनगर । विराटनगरमा दशैँको रौनक बढेको छ । मेन रोडस्थित वडा प्रहरी कार्यालय नजिकबाट ट्राफिक चोकसम्म बाँसको प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । यस्तै झिलिमिली बत्ती प्रयोग गरी सजाइएको छ । यसले साँझको समयमा रौनकता थपेको छ ।
रमणीय बजार क्षेत्रको दृष्यावलोकन गर्न स्थानीयहरू पुग्ने गरेका छन् । विगतका वर्षहरूमा पनि महानगरसँग अनुमति लिएर बजार क्षेत्रलाई सजाइने गरिएको थियो । तर यसपटक भने अनुमति बिनै सजावट गरिँदा सवारी आवत-जावतमा समस्या देखिएको छ ।
महानगरपालिका नगरप्रहरी प्रमुख राजन पौडेलका अनुसार सडकमा स्वागतद्वार वा अन्य संरचना बनाउनुपरे महानगरपालिकासँग पूर्वअनुमति लिनुपर्ने प्रावधान छ । जसबाट महानगरले ट्राफिक व्यवस्थापन र अन्य सहजिकरणका लागि योजना बनाउँछ ।
‘अनुमति लिएपछि ट्राफिक व्यवस्थापन र अन्य सहजीकरण गर्ने योजना महानगरले बनाउँछ’, पौडेलले भने, ‘तर अनुमति नलिइ सजावट हुँदा सर्वसाधारणलाई असुविधा भएको छ ।’
उनले आगामी दिनमा यस्ता कार्य गर्दा सम्बन्धित निकायसँग सहकार्य गर्न आग्रह समेत गरे । ‘चाडपर्वमा सजावटले रमाइलोपन थप्छ । तर नियम अनुसार अनुमति लिनुपर्छ’, उनले थपे, ‘आगामी दिनमा अनुमति लिएर मात्रै यस्तो कार्य गर्न आग्रह गर्दछु । अनुमति लिँदा सबैलाई सहज हुन्छ ।’

इन्दु साह/संगालोखबर 













