
धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका-७ चाम्चास्थित टप्पुदेवी माध्यमिक विद्यालयमा पानीपुरी र चटपटे खाँदा विद्यार्थीहरू बिरामी भएका छन् । आज दिउँसोको खाजा पानीपुरी र चटपटे खाएका १५ विद्यार्थी बिरामी परेका हुन् ।
१० वर्षीया सलिना राई, रश्मिका राई, १२ वर्षीय मिलन राई, ९ वर्षीय मिलन राई, ७ वर्षीय एमन राई, ९ वर्षीय मानवी राई, १० वर्षीया समृद्धि बिष्ट र ११ वर्षीय दिपसन राई बिरामी परेका हुन् ।
यस्तै १० वर्षीया मैना राई, १० वर्षीया इनोसेन राई, ९ वर्षीया रीतिका राई, स्रेङ्मा राई, ८ वर्षीया गोमा थापा, ९ वर्षीय योजना राई र ९ वर्षीया सिङसा राई बिरामी भएका धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
पानीपुरी र चटपटे खाएका उनीहरूमा वान्ता हुने र पेट दुख्ने समस्या देखिएको प्रधानाध्यापक रमेश पौडेलले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













