
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-७ खालबाडीमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ । खुकुरी र बसिला प्रहार गरेर अन्दाजी ३६ वर्षीय फुर्वा तामाङको आज बिहान हत्या भएको हो ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिर्तामोड-७ का अन्दाजी २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिलासमेत बरामद भएको छ । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
पुरानो रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले संगालोखबरलाई जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













