
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे-४ का २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङ छन् ।
शनिबार साँझ शनिश्चरे बजार क्षेत्रमा लागूऔषधको सेवन तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो ।
खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको अवस्थामा ४ ग्राम ९४० मिलिग्राम लागूऔषध ब्राउन सुगर, ‘निट्जासेन्ट-१०’ लेखिएको १२८ क्याप्सुल र नगद १२ हजार ९ सय २५ रुपैयाँ बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















