सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा बजार क्षेत्रका ११ सय घरपरिवारलाई खानेपानी शुद्धीकरण गरेर वितरण गरिने भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले खानेपानी प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालन गरी वितरण गर्न लागेको हो ।

बजार क्षेत्रमा वितरण हुने खानेपानी शुद्धीकरणका लागि दुई ठूला प्रशोधन प्रणाली सञ्चालनको तयारी अन्तिम चरण पुगेको छ । धनकुटास्थित स्कुल डाँडा र सल्लेरीमा खानेपानी प्रशोधन प्रणाली निर्माण गरिएको छ ।

Advertisement

खानेपानी शुद्धीकरणका लागि दुई ठूला प्रशोधन प्रणाली एक करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिए ।

प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सक्ने प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ नम्बर वडाबासीले स्वच्छ खानेपानी पाउनेछन् । दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको महर्जनले बताए ।

शुद्धपानी वितरण गर्न यसअघि पनि साना क्षमताका शुद्धीकरण प्रणाली निर्माण गरिएका थिए । तर उक्त प्रणाली पुराना हुँदै गएपछि नयाँ र ठूलो क्षमताका प्रणाली निर्माण थालिएको थियो ।

दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्य छ । त्यसैलाई मध्यनजर गर्दै खानेपानी पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!