
धनकुटा । धनकुटामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा आमा-छोरा घाइते भएका छन् । आज दिउँसो करिब १ बजे धनकुटा नगरपालिका-६ स्थित गोकुण्डेखोल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएका छन् । उनीहरू आमा-छोरा रहेको खुलेको छ ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालका अनुसार घाइते पार्वतीको टाउकोमा गम्भीर चोट लागेको छ ।
भिमनारायण चोकबाट नगरपालिकातर्फ जाँदै गरेको को १ च ९९३८ नम्बरको पिकअप र विपरित दिशाबाट आउँदै गरेको को २६ प ७७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका धनकुटाका प्रहरी प्रमुख एसपी शरद कुमार थापा क्षेत्रीले जानकारी दिए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













