
विराटनगर । देशभरि फैलिएको पछिल्लो राजनीतिक तथा सामाजिक आन्दोलनका विषयमा गहिरो बहस र छलफल गर्न विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम गरिएको छ ।
विराटनगर यूथ रिभोलुसनको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू, युवापुस्ता र जेनजी सहभागि थिए । उनीहरूले पछिल्लो घटनाक्रम तथा आन्दोलनको आवश्यकता, चुनौती र सम्भावित समाधानबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाका अनुसार कार्यक्रमको प्रमुख उद्देश्य युवालाई संगठित गर्दै उनीहरूको सक्रिय सहभागिता मार्फत देश विकासमा योगदान पुर्याउनु थियो । सो क्रममा जेनजी तथा युवाहरूको सहभागितासहित १५ सदस्यीय महानगर समिति गठन गरिएको छ ।
समितिले आगामी दिनमा युवा र जेनजीले गर्ने गतिविधि तथा रणनीति तय गर्ने र आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको छ । सोही अवसरमा भदौ २४ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा विरेन्द्र सभागृह जोगाउन महत्वपूर्ण योगदान पुर्याउने अनमोल लिम्बुलाई सम्मान गरिएको छ ।
लिम्बुको सक्रियता र नेतृत्वलाई आदर्शको रूपमा प्रस्तुत गर्दै आगामी दिनमा युवापुस्ताले त्यस्ता जिम्मेवारी बोकेर अघि बढ्नुपर्नेमा कार्यक्रमका सहभागिले जोड दिए ।

इन्दु साह/संगालोखबर 













