
विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकाको कार्यालय भवनको सरसफाइ सकिएको छ । अत्यावश्यकसहितका आंशिक सेवा सुचारु गरिसकेको महानगरलाई पहिलाकै अवस्थामा फर्काउन तीव्रगतिमा काम थालिएको छ ।
महानगरले जलेका सबै कोठाको सरसफाइ सकेर विज्ञ प्राविधिक टोलीलाई झिकाएर भवनको अवलोकन गराएको छ । जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अवलोकन गराएको हो ।
प्रारम्भिक अवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको विज्ञ टोलीले बताएको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा महानगरको भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा, बैठककोठा लगायतमा बढी क्षति पुगेको छ ।
महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार छेउको राजस्व महाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।

संगालोखबर 













