
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सञ्चालित ३१ वटा होटल तथा रेष्टुरेन्ट मध्ये २३ वटा स्तरीकरणमा परेका छन् । आठ वटालाई भने सुधार गर्न निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र डिभिजन कार्यालय धनकुटाले गरेको संयुक्त अनुगमनमा २३ वटा होटल तथा रेष्टुरेन्टमा स्तरीकणको लोगो टाँस गरिएको छ ।
खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका २०७४ अनुसार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा एउटा होटल अतिउत्तम, चार वटा उत्तम र १४ वटा सन्तोषजनक पाइएको भन्दै हरियो स्टिकर टाँसिएको छ ।

यस्तै चार वटा होटल सामान्य स्तरको पाइएकाले पहेँलो स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुष्पलाल राईले बताए । उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ प्राप्त हुने सुनिश्चितता लागि स्टिकर टाँसिएको तथा अनुगमन गरिएको अधिकृत राईले जानकारी दिए ।
अनुगमनमा धनकुटाका खाद्य निरीक्षक सुशील कोइराला, साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडाध्यक्ष यम प्रकाश मगर, होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु, सचिव रमेश श्रेष्ठसहित सरोकारवाला सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













