
विराटनगर । खोटाङमा भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका काँग्रेस खोटाङका जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईविरुद्ध उजुरी परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।
प्रहरीका अनुसार भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल जाँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध गरी भरुवा बन्दुक देखाएर लुटपाट गर्न खोजेको भन्दै चालक सविन तामाङले डाँका उद्योगसम्बन्धी शीर्षकमा उजुरी दिएका हुन् ।
‘भरुवा बन्दुक देखाएर लुटपाट गर्न खोजेको भन्दै चालकले उजुरी दिनुभएको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरसँग भने, ‘आरोपित फरार भएकाले खोजी भइरहेको छ । पक्राउ परेपछि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्छ ।’
यस्तै जिल्लास्थित १४ यातायात व्यवसायीहरूले उक्त प्रकरणमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।

संगालोखबर 













