
धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो ।
सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य तीन सय पाँच वटा उजुरी परेको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ बाट पाँच सय ५३ जिम्मेवारी सरेर आएका छन् ।
गतवर्ष र अघिल्ला वर्षहरूबाट दायित्व सरेर आएकासहित एक हजार नौ सय ३८ वटा उजुरी फछर्यौट भएका र तीन सय ९८ वटा फछर्यौट हुन बाँकी रहेका कार्यालयका प्रमुख खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले उजुरी परेपनि कारबाही नभएको, सानालाई कारबाही गरेपनि ठूलालाई संरक्षण गरेको आरोप लाग्ने गरेका कारण अख्तियारमा शुद्धता हुनुपर्ने सुझाव दिएका थिए । यस्तै सरोकारवालाहरूले अख्तियारमा परेका उजुरीको आधारमा निष्पक्ष छानविन गर्नुपर्ने बताए ।
अख्तियारमा आर्थिक वर्ष २०७०/०७१ का उजुरी अझै बाँकी रहेको बताउँदै आर्थिक वर्ष २०७९/०८० अगाडिका उजुरी चालु आर्थिक वर्षमा फछर्यौट हुने उनले बताए । यस्तै प्रमुख रिजालले सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको काममा अख्तियारलाई सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले आयोगको कामलाई विश्वासिलो बनाउन आवश्यक रहेको बताए । उनले गलतलाई आफूले नछाड्ने बताउँदै आफू भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए ।

सन्तोष सुवेदी/संगालोखबर 













