
विराटनगर । ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय घरपरिवार विद्युतविहीन भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा सोमबार राति आएको बाढीले ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको हो ।
गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनः निर्माण गरी सञ्चालनमा आएको दुई सातामै बाढीले क्षति पुर्याएको वडा नम्बर ६ का वडाध्यक्ष पेमा टासी शेर्पाले बताए ।
‘असार २५ गते राति आएको बाढीले जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो । गाउँपालिकाको विपद् कोषबाट पाँच लाख र जनश्रमदानबाट मर्मत गरेर भदौ २ गतेबाट उत्पादन सुरु भएको थियो’, वडाध्यक्ष शेर्पाले संगालोखबरसँग भने, ‘पुनः बाढीले क्षति पुर्याएको छ । पहिला जति क्षति भने भएको छैन ।’
उनका अनुसार जलविद्युतको १५ मिटर कुलोमा क्षति पुगेको छ भने आयोजनाभित्र लेदो पसेको छ । यसलाई पुनः सञ्चालनमा ल्याउन हप्ता दश दिन लाग्न सक्ने उनको अनुमान छ ।
बाढीले आयोजनामा क्षति पुर्याएपछि ६ नम्बर वडाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका वडाध्यक्ष शेर्पाले जानकारी दिए । वर्षाका कारण पहिराले विभिन्न सडकमा पनि क्षति भएको उनको भनाइ छ ।

संगालोखबर 













