
धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो ।
सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै प्रश्न गर्नुभयो ।
‘यो समीक्षा तथा छलफल कार्यक्रम हो । कार्यालयले गर्ने नियमित सेवाभन्दा अन्य देखापर्ने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक छ’, राईले भने ।
उनले गत आर्थिक वर्षमा धनकुटामा खानेपानीका लागि आएको २ अर्ब ५० करोड बजेट कार्यान्वयन नहुनुलाई गम्भीर त्रुटि औंल्याउँदै दुःख व्यक्त गरे । आगामी दिनमा यस्ता गल्ती दोहोरिन नदिन सुझाव दिँदै उनले लोकतन्त्रपछि विकास तीव्र गतिमा भइरहेको बताउँदै सबै पक्षले आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा धनकुटाका सातै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालयहरू तथा विभिन्न गैरसरकारी संस्थाले गत वर्ष सञ्चालन गरेका योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रस्तुत प्रतिवेदनमा भएका काम, काम गर्दा देखा परेका समस्या, त्यसलाई सहज बनाउन सकिने उपाय, बेरुजु समस्या र समाधानबारे छलफल गरिने छ । कार्यक्रममा जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा हासिल भएका उपलब्धि र चुनौतीहरूको समेत समीक्षा गरिने छ ।
यसबाट जिल्लाको समग्र विकास अवस्था बुझ्न र आगामी योजनाहरू तय गर्न मद्दत पुग्ने जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा प्रथम भएको चौबिसे गाउँपालिका, द्वितीय सहिदभूमि गाउँपालिका र तृतीय पाख्रिबास नगरपालिकालाई सम्मान गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













