
विराटनगर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट एक महिनामा एक अर्ब २३ करोड बढीको कृषिजन्य वस्तु निर्यात भएको छ ।
चालू आर्थिक वर्षको साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्रिसोलगायत छन् ।
एक महिनाको अवधिमा सबैभन्दा धेरै ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको चिया, ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको अलैँची, २६ करोड ८७ लाख रुपैयाँको प्लाइ तथा भेनियर र आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको अम्लिसो निर्यात भएको छ ।
यसैगरी छ करोड १० लाख रुपैयाँको अदुवा, चार करोड सात लाख रुपैयाँको बन्दा र दुई करोड १३ लाख रुपैयाँ मूल्य बराबरको मसुरो दाल निर्यात भएको छ ।
सोही अवधीमा पूर्वी नाकाबाट एक अर्ब ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य बस्तुहरूमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

संगालोखबर 













