
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले २५ वर्ष पुगेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरेर रजत जयन्ती मनाएको छ । मैत्रीपूर्ण फुटसल, मानवसेवा आश्रमका वृद्धवृद्धालाई भोजन, रक्तदान लगायत कार्यक्रम गरेर रजत जयन्ती मनाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा विराटनगरको विरेन्द्र सभागृहमा शनिवार रजत जयन्ती समारोह गरिएको छ । सो अवसरमा २५ वर्षदेखि न्यूरोे हस्पिटलमा कार्यरत २५ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यस्तै, हस्पिटलमा १ दशकदेखि कार्यरत ९ जना डाक्टर र उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना कर्मचारीलाई पनि सम्मान गरिएको छ । स्वास्थ्य मन्त्री पौडेल र हस्पिटलका संस्थापक अध्यक्ष डा.विरेन्द्र विष्टले खादा र सम्मानपत्र प्रदान गरी उनीहरूलाई सम्मानित गरेका हुन । सोही अवसरमा अस्पतालको स्मारिका पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले मोफसलमा रहेर न्यूरो तथा कार्डियो उपचारका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै न्यूरो अस्पतालको प्रशंसा गरेका छन् । त्यस्तै, अस्पतालका कार्यकारी निर्देशक डा. अनिषा विष्टले कठिन परिस्थितिका बावजुद पनि न्यूरो हस्पिटल यस स्थानमा आइपुगेकोप्रति खुसी व्यक्त गर्दै यसका लागि सहयोग गर्ने सबैजनालाई धन्यवाद दिएकी छन् ।
न्यूरो अस्पतालले २५ वर्षयता नेपालसहित छिमेकी देश भारतका २५ लाखभन्दा बढी बिरामीहरूको उपचार गरेको अस्पतालका संस्थापक अध्यक्ष विरेन्द्र विष्टले जानकारी दिए । २०५७ सालमा न्यूरो डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरको रुपमा सुरुवात भएको हस्पिटलले पछिल्लो दुई दशकमा सीटीस्क्यान, एमआरआई, न्युरो सर्जरी, मुटु रोग, स्त्रीरोग तथा प्रसुती, हाडजोर्नी, नाक कान घाँटी, मानसिक स्वास्थ्यसहितका सेवा विस्तार गरेको छ । यो अवधिमा ७ हजार ५ सय भन्दा बढी न्युरो सर्जरी, ५ हजार भन्दा बढी मुटु सम्बन्धी शल्यक्रिया र ६ हजार भन्दा बढी हाडजोर्नी सम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

गोमा ढुंगाना/संगालोखबर 













