
झापा । झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी भएको छ । शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सिक्री चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न शिवसताक्षी-८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूलाई पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका-६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।
स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा साउन ३२ गते साँझ गणेश चोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सिक्रीको टुक्रा र ३० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













