
विराटनगर । विराटनगरको विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र स्थापना गरिएको सेवा कक्षको आज कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् ।
श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष कक्ष स्थापना गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद पराजुलीले यसबाट श्रमिकहरूलाई ठूलो राहत मिल्ने बताए ।
उनले विराटनगर शैक्षिकसँगै स्वास्थ्यको हब बन्दै गएको उल्लेख गर्दै गुणस्तरीय सेवा दिँदै नयाँ-नयाँ प्रविधि भित्र्याउनु पर्नेमा जोड दिए ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक राजकुमार मण्डलले श्रमिकलाई सहज र सरल सेवा प्रवाह गर्ने उद्देश्यका साथ सामाजिक सुरक्षा कोष कक्ष स्थापना गरिएको उल्लेख गरे ।
उनले अस्पतालमा सबै सेवा उपलब्ध गराएको बताउँदै कक्ष स्थापनासँगै श्रमिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
सामाजिक सुरक्षा कोषमार्फत श्रमिकले कुल रकमको २० प्रतिशत तिर्नुपर्ने व्यवस्था छ भने बाँकी ८० प्रतिशत सम्बन्धित संस्था वा रोजगारदाता कम्पनीले ब्यहोर्नु पर्ने हुन्छ ।

संगालोखबर 













