
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन् । आज विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए । उनले नेपालमा संस्था खोल्ने र त्यसलाई वास्ता नगर्ने प्रवृत्ति रहेको चर्चा गर्दै थुप्रै सरकारी संरचनाहरू चलाउन नसकेको तर्फ ध्यानाकर्षण गराए ।
यस्ता पुराना संस्थाहरूबाट उपलब्धि हासिल गर्न सकिने भएपनि काम हुन नसकिरहेको भन्दै उनले बाल संगठनलाई नयाँ ढङ्गले सोच्नुपर्ने बताए । ‘संरचनाहरू छन् तर त्यसले रिजल्ट दिएको छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘अब त्यस्ता संरचनाहरूलाई पुनर्संरचना गर्ने, क्रियाशील बनाउने र अगाडि बढ्ने गरी काम गर्नुपर्छ ।’
बालबालिका हाम्रो भविष्य र सपना भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि संगठनले भूमिका खेल्नुपर्ने बताए ।
कोशी प्रदेशमा रहेका बाल संगठनको अवस्था, भौतिक संरचना र सम्पत्तिको विषयमा सामाजिक विकास मन्त्रालयलाई अध्ययन गरी यथार्थ विवरण ल्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले यसको विवरणका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै यसतर्फ संघीय सरकारले पनि आफ्नो कार्यक्रमहरू ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रिय अध्यक्ष विद्या न्यौपानेले बाल संगठनको अहिलेको अवस्थाका विषयमा जानकारी गराएकी थिइन् ।

संगालोखबर 













