
धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका वृक्षरोपण गरिएको हो ।
धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फुलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वातावरणको हिसाबले पृथ्वी जोखिममा रहेको बताउँदै खाली जमिन बाँजो छाड्न नहुने उल्लेख गरे ।
वैज्ञानिक हिसाबले वर्षौंदेखिका रूख आवश्यक प्रक्रिया पुर्याई काटेर पुनः अर्को बिरुवा रोप्नुपर्ने उनको भनाइ थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका सचिव पर्शुराम मल्लले पछिल्लो समय मौसम परिवर्तन, वन फँडानीका कारण लामो समयदेखि पानी नपर्दा पानीका मुहानहरू सुक्दै गएको बताए । पानीको मुहान बचाउनका लागि पनि वृक्षरोपण गर्नुपर्ने उनको भनाइ थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटा र सन्सारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा वन दिवसको अवसरमा वृक्षरोपण गरिएको हो । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













