
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकामाथि सोही विद्यालयमा पढ्ने साथीहरूले बलात्कार गरेका हुन् ।
प्रहरीका अनुसार स्थानीय एक विद्यालयमा कक्षा-८ मा अध्ययनरत बालिकालाई सोही विद्यालयमा अध्ययनरत ९ कक्षामा पढ्ने दुई जना विद्यार्थीले साउन १९ गते बलात्कार गरेका हुन् ।
विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोजी गर्ने क्रममा भोलिपल्ट फेला पारेको प्रहरीको भनाइ छ ।
‘दुई जना नाबालकले बलात्कार गरेको भनेर जाहेरी परेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले संगालोखबरसँग भने, ‘दुबै जना फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।’
बालिकाको स्वास्थ्य परीक्षणपछि बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित बालकहरू दुबै १५-१६ वर्षका छन् । घर फर्कने क्रममा ओडार लगेर रातभरि बलात्कार गरेको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

संगालोखबर 













