
विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना भएको छ । आज बिहान हलेसीबाट सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार माइक्रोमा १८ जना यात्रु रहेको अनुमान गरिएको छ । १३ जना घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि घुर्मीतर्फ पठाइएको उनले संगालोखबरलाई जानकारी दिए ।
घाइतेमध्ये चार जनाको पहिचान खुलेको छ । सिरहाको नरहा गाउँपालिका-५ बलुवाका ३९ वर्षीय रञ्जित यादव घाइते छन् । उनको दाहिने हातको औँलामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै सोही स्थानकी ७० वर्षीया कुस्मवती यादवको टाउकोमा चोट लागेको छ भने ७० वर्षीय राज यादवको टाउका र, दाहिने हातको औँलामा तथा छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै सोही स्थानका रामशरण ठाकुरकी श्रीमती (तत्काल नाम नखुलेको) को दाहिने खुट्टा, आँखा र नाक भाँचिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

संगालोखबर 













