
धनकुटा । धनकुटामा ‘चियासँग कविता’ २५ औं शृङ्खलामा पुगेको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा जोत्सना अधिकारी प्रथम भएकी छन् ।
रेडियो धनकुटा एफएमको संयोजनमा भएको खुल्ला कविता प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् । यस्तै प्रतियोगितामा दृष्टि श्रेष्ठ द्वितीय तथा समीक्षा अधिकारी तृतीय हुँदा डिआर फुँयाल सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेहरूले क्रमश : दुई हजार पाँच सय, एक हजार पाँच सय, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २९ जना प्रतियोगीहरू सहभागि थिए ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सङ्घीय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति अध्यक्ष निरन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम बोल्दै सांसद राईले साहित्यले मानिसलाई माथिल्लो स्थान सम्म पुर्याउने बताए । पछिल्लो समय कला-साहित्यप्रति सबैको रुचि बढ्दै गएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले जोड दिए ।
कार्यक्रममा कवि घनश्याम बराल ‘औलाली’, रोशन परियार, ध्रुव एलेक्स, राज माङ्लाक, भीम राई, द्वारिका रिजाल र गजलकार निर्मला कुँवर लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













