संगालोखबर


विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ ।

Advertisement

झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा १७ जना बालबालिका घाइते भएका छन् भने भ्यानका चालक र शिक्षिका पनि घाइते भएका छन् । उनका अनुसार भ्यान चालक मेचीनगर-९ का ४५ वर्षीय गणेश श्रेष्ठ र शिक्षिका अन्दाजी २३ वर्षीया प्रीति सिवा घाइते भएका हुन् ।

भ्यान चालक श्रेष्ठको अवस्था मध्यम रहेको र बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शिक्षिकालाई आम्दा अस्पताल धुलाबारीबाट थप उपचारका लागि बी एन्ड सी अस्पताल रेफर गरिएको डीएसपी खड्काले जानकारी दिए ।

दुर्घटनामा मेचीनगर-९ घर भएकी ६ वर्षीया सविस्का राई, ४ वर्षीया समीरा बिशुंखे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, सोहित राजवंशी, आयान सुब्बा, अनुराग तामाङ र १२ वर्षीया कृष्पा राई घाइते भएका छन् ।

यस्तै संयोग बिशुंखे, आयानी बिक, ११ वर्षीया प्रनिश राई, ९ वर्षीय समर्पण राई, ६ वर्षीया सुसिता किसान, तानसोना लिम्बू, ७ वर्षीय सेसेहाङ लिम्बू र ९ वर्षीय अंगु बराई मगर घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको बिर्तामोडस्थित बीएन्डसी र धुलाबारीको आम्दा अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!