
विराटनगर । कृषकहरूले समयमै मलखाद र उन्नत जातको बीउ नपाउने समस्या त छँदैछ । सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने अर्को बाध्यता छ ।
त्यतिमात्र होइन, जसोतसो बाली लगाएपनि त्यसलाई जङ्गली जनवारबाट कसरी जोगाउने भन्ने अर्को चिन्ता पनि छ । यसैलाई मध्यनजर गर्दै पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले ९ जना बाँदर हेरालु नियुक्त गरेको छ ।
वडाले मकैको घोगा लाग्न सुरु गरेदेखि भाँच्ने बेलासम्मका लागि हेरालु कर्मचारी नियुक्त गरेको हो । वडाध्यक्ष देवेन्द्र लावतीका अनुसार किसानले मिहेनत गरेर फलाएको मकै सहितका बाली बाँदरले क्षण भरमै नष्ट गर्ने क्रम बढेसँगै यो विकल्प अपनाइएको हो ।
उनका अनुसार हेरालुले करिब एक महिनासम्म पहरा दिँदै मकैको सुरक्षा गर्नुपर्नेछ । उनीहरूलाई पारिश्रमिक भने डोर हाजिर भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने सहमति भएको छ ।
यो टोलीले बाली लगाएका ठाउँ घुम्ने, गस्ती गर्ने, बाँदर तर्साउने, धपाउने लगायतका काम गर्दै आएका छन् । जसका लागि आवश्यक उपकरण वडा कार्यालयले उपलब्ध गराएको छ । पहिलो पटक थालिएको यो काम प्रभावकारी भएमा आगामी दिनका लागि पनि कार्ययोजना बनाउने वडाको लक्ष्य छ ।

संगालोखबर 













