
धनकुटा । कृषि क्याम्पस संचालनका लागि आठ वर्षअघि जग्गा दिए पनि अहिलेसम्म मुआब्जा नपाएको स्थानीयले बताएका छन् । उनीहरूले सरकारी उदासीनताका कारण अहिलेसम्म मुआब्जा नपाएको बताएका हुन् ।
धनकुटाको पाख्रीबास नगरपालिका-३ मा वि.सं. २०७४ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस स्थापना भएको हो । भवन निर्माणका लागि करिब एक सय रोपनी बढी जग्गा आवश्यक पर्ने हुँदा स्थानीयले मुआब्जा पाउने सर्तमा पास गरिदिएका थिए ।
स्थानीय टायल बहादुर बस्नेले घरको आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउने खर्च जुटाउन २२ रोपनी जग्गा क्याम्पसको नाममा पास गरिदिए । अन्य दुई रोपनी क्याम्पस निर्माणका लागि निःशुल्क उपलब्ध गराएका थिए ।
तर अहिलेसम्म मुआब्जा नपाउँदा समस्या भएको उनले सुनाए । ‘मुआब्जा पाउने आशमा ३/४ रोपनी आफूलाई राखेर सबै क्याम्पसलाई पास गरिदिएँ’, उनले भने, ‘अहिलेसम्म मुआब्जा पाउन सकेको छैन । आशैआशामा आठ वर्ष बित्यो ।’
स्थानीय पवन कुमार चोङवाङको पनि उस्तै समस्या रहेको छ । जग्गाको मुआब्जा नपाउँदा आफूहरूलाई समस्या थपिएको उनको भनाइ छ । क्याम्पस सञ्चालनका लागि बस्नेत र चोङवाङसहित आठ जना बढीले मुआब्जा पाउने सर्तमा जग्गा पास गरिदिएका थिए । तर अहिलेसम्म कसैले मुआब्जा पाउन सकेका छैनन् ।
स्थानीयले मुआब्जा बापत क्याम्पसलाई दिएको करिब ४२ रोपनी जग्गाको करिब ७५ लाख मूल्य हुन आउँछ । मुआब्जा विवादका कारण त्यो बेला पास गर्न छुटेका केही व्यक्तिले भने अहिले जग्गा पास गर्न मानेका छैनन् ।
स्थानीयले केही जग्गा निःशुल्क रूपमा पनि उपलब्ध गराएका थिए । क्याम्पस प्रमुख निराजन भण्डारीले भएको जमिनमा समेत संरचना बनाउन नपाएको गुनासो गरे ।
क्याम्पसलाई ल्याब, शैक्षिक भवन, प्रशासनिक भवन, लाइब्रेरी र सभाहल आवश्यक छ । त्यस्तै विद्यार्थीहरूका लागि छात्रावास साथै शिक्षकहरूका लागि क्वाटर लगायतका संरचना आवश्यक पर्छ । तर मुआब्जा विवादका कारण संरचना निर्माणमा समस्या भएको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।
जग्गाको मुआब्जा उपलब्ध गराउने जिम्मेबारी पाएको पाख्रीबास नगरपालिकाले यसवर्ष मुआब्जाको लागि ३५ लाख रुपैयाँ छुट्याएको जनाएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले जग्गा दायित्वको बारेमा उल्लेख नगरेकाले मुआब्जा दिन समस्या भएको नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताए । नगरपालिकाले मुआब्जाको समस्या हल गर्न लागिपरिरहेको उनको भनाइ छ ।
भवन निर्माणमा समस्या हुँदा हाल चारवटा ब्लकमा मात्रै प्रशासन र क्याम्पस सञ्चालन भइरहेको छ । हाल क्याम्पसमा बीएस्सी एग्रिकल्चरतर्फ देशभरका दुई सय ३० छात्रछात्रा अध्ययनरत छन् ।

सन्तोष सुवेदी/संगालोखबर 













