
विराटनगर । विराटनगर-१ परोपकार घाटस्थित परमार्थ सिंघिया आरती स्थलमा शिवको मूर्ति निर्माणका लागि आज शिलान्यास गरिएको छ । आरती सुरुवातको दोस्रो वर्ष प्रवेशको अवसर पारेर मूर्तिको शिलान्यास गरिएको हो ।
आरती स्थलमा साँझ आयोजित कार्यक्रममा प्रथम महिला शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले संयुक्त रुपमा मुर्ति शिलान्यास गरेका हुन् ।

करिब १० लाखको लागतमा निर्माण हुने कैलाशपति महादेवको मूर्ति आगामी फागुन ३ गते अर्थात महाशिवरात्रिका दिन अनावरण गरिने आरतीका प्रमुख संरक्षक शंखर खरेलले जानकारी दिए । मूर्ति निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्ने क्रम जारी छ ।
समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई मूर्ति शिलान्यासको अवसर पारेर सम्मान गरिएको छ । सो स्थानमा हरेक साताको शुक्रबार आरती गर्ने गरिएको छ । आरतीका लागि विराटनगरसहित विभिन्न क्षेत्रका मानिसहरू आउने गरेका छन् ।



















तस्बिर : मोहन ढकाल/संगालोखबर

मोहन ढकाल/संगालोखबर 













