
धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमी मेला लागेको छ । मन्दिरको १५ औं वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आज बिहानै देखि भक्तजनहरूको उपस्थिति बाक्लो छ ।
वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मेयर तामाङले बक्रकुण्ड मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाइने उल्लेख गरे ।

‘यो मन्दिर हिलेको एउटा धार्मिक पर्यटकीय गहना हो’, मेयर तामाङले भने, ‘यो ठाउँलाई चिनाउन साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आवश्यक छ । त्यसका लागि म पनि महत्वपूर्ण भूमिका खेल्ने छु ।’ कला, संस्कृतिको प्रवर्द्धनमा सबै जना लाग्नुपर्नेमा उनले जोड दिए ।
बक्रकुण्ड मन्दिरमा पूजा-आराधनाका लागि धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम, भोजपुर, सङ्खुवासभा र तराइका जिल्लाबाट पनि भक्तजनहरू आएका छन् ।

मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व बढाउन ७ शिर भएको नागको करिब १० फुट अग्लो मूर्ति स्थापना गरिएको छ । यो मन्दिर धनकुटाको पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ ।




तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













