
विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फुङलिङ-११ बस्ने अन्दाजी २८ वर्षीया भावना बिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी सिरिजङ्गा गाउँपालिका-३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
दुर्घटनामा बोलेरो चालक ३३ वर्षीय सविन विष्ट घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १० बजे फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जाँदै गरेको मे १ ज ३२९६ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकबाट अन्दाजी ६० मिटर तल खसेको बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार बोलेरोमा चालकसहित दुई जना मात्रै सवार थिए ।

संगालोखबर 













